
सन्तोष शर्मा
झापा, १२ पुस । झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्रे गरेको छ ।
स्थानीय तह पुनर्संरचना भएपछि हल्दिबारी गाउँपालिकाले यहाँको मुख्य सडकहरुमध्ये ३३ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

“मुख्य सडकको ८५ प्रतिशत सडक कालोपत्रे गरिसकिएको छ” उहाँले भन्नुभयो, “सीमित साधन स्रोतका कारण भनेजति गर्न सकिए पनि काम भइरहेको छ ।” गाउँपालिकाको आन्तरिक स्रोत वार्षिक करिब रू एक करोड ५० लाख रहेको बताउँदै उहाँले संघ र प्रदेशबाट समेत कम बजेट प्राप्त हुँदा नागरिकको माग अनुसार काम गर्न नसकिएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले चालू आर्थिक वर्षमा मात्रै झण्डै १५–१६ किलोमिटर सडकको निर्माण कार्य अन्तिम चरणमा रहेको बताउनुभयो । काठे–बाँसे पुल विस्थापित गर्ने गाउँपालिकाको अभियान अन्तरगत एक सय वटा भन्दा बढी काठे–बाँसे पुल विस्थापित गरी पक्की पुल र कल्भर्ट निर्माण गरिएको उहाँले बताउनुभयो ।

बहुवर्षेयीय योजना अन्तरगत भुतेनी र भुसुडी खोलामा पक्की पुल निर्माण कार्य भइरहेको छ । पालिका क्षेत्रमा पुलहरु निर्माण भएपछि हल्दिबारीसँग भद्रपुर, कचनवकल, बाह्रदशी, बिर्तामोड लगायतका स्थानमा आवतजावत सहज भएको छ ।
“वर्षाका बेला खोलामा बाढी आउँदा काठको पुल बगाउने, आवतजावत ठप्प हुने अवस्था अन्त्य हुँदैछ”, प्रमुख प्रशासकीय अधिकृत वनले भन्नुभयो, “सडक र पुल बनेपछि कृषकले आफ्नो उत्पादन बजारसम्म पु¥याउन पाएका छन् ।”

भुतेनी र भुसुडी खोलामा पुल निर्माणका लागि रू पाँच करोड ५० लाख बराबरको बोलपत्र आह्वान गरे पनि रू चार करोड ६७ लाखमा सम्झौता भएर ७० प्रतिशत कार्य भइसकेको नगरपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले बताउनुभयो । उहाँले चालू आवमा काम सकिएर दुवै पुल सञ्चालनमा आउने जानकारी दिनुभयो ।
धनुषापोखरी देखि धाधरपाडासम्म सडक कालोपत्रे निर्माणका लागि रू एक करोड ९७ लाख लागत अनुमान गरेर बोलपत्र आह्वान गरिए पनि रू एक करोड २२ लाखमा सम्झौता भएर ३० प्रतिशत काम भइसकेको छ भने चालू आवमा नै सडक कालोपत्रे सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले हालै पशु अस्पताल निर्माणसमेत सम्पन्न गरेर सेवा प्रारम्भ गरिसकेको छ ।
पूर्वाधार निर्माणका क्षेत्रमा गाउँपालिकाले फड्को मार्दै गएको अध्यक्ष लिङ्देनको भनाइ छ । “भएको स्रोतलाई अधिकतम् परिचालन गरिरहेका छौं”, उहाँले भन्नुभयो, “गुणस्तरमा पनि विशेष ध्यान दिएका छौं ।”
गाउँपालिकाको सबै वडा कार्यालय र गाउँपालिका भवन निर्माण भई आफ्नै भवनबाट सेवा सुचारु भइरहेको छ । मुख्य बजारमा टहरा निर्माण गरी बजार व्यवस्थापन गरेको गाउँपालिकाले एक सय किलोमिटरभन्दा बढी खानेपानी पाइप विस्तार गरी पालिकाभर निःशुल्क खानेपानीको व्यवस्था गरेको छ ।
गाउँपालिका क्षेत्रमा २१ वटा पक्की भवन निर्माण गरी विपन्न नागरिकलाई निःशुल्क खानेपानी जडान गरी सुरक्षित आवासको व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले जानकारी दिनुभयो । “घरसँगै ती परिवार सदस्यको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ”, उहाँले भन्नुभयो, “सकेसम्म गाउँघरमै सिंहरदबारको प्रत्याभूति दिने प्रयासमा छौं ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


