
सन्तोष शर्मा
बनियानी, १३ फागुन । झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ ।
विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रबद्र्धन कार्यक्रम अन्तरगत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।


युएनडीपी र कचनकवल गाउँपालिकाको लागत साझेदारी २५ बिघा खोला उकास जग्गामा बगर खेती कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । कार्यक्रमको व्यवस्थापन न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) ले गरिरहेको उहाँले बताउनुभयो ।
“विपन्न नागरिकका लागि आय आर्जनको माध्यम सिर्जना गर्नुका साथै भूमिमा उनीहरुको अधिकार सुनिश्चित गर्ने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने उद्देश्यले पनि हो ।”
यो कार्यक्रमका लागि यूएनडीपीको रू ८१ लख २५ हजार आठ सय, कचनकवल गाउँपालिका र भूमिगत सिञ्चाइ आयोजनाको रू एक करोड नौ लाख ३८ हजार गरी कूल रू एक करोड ९० लाख ६३ हजार आठ सय लगानी रहेको छ ।

जग्गामा घेराबार गरी करिब १५ बिघामा नौ हजार वटा सुपारीका बिरुवा रोपिएको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिनुभयो । गाउँपालिकाले छनोट गरेको लक्षित वर्ग विपन्न, आदिवासी, दलित लगायतका एक सय पाँच परिवारमध्ये ९६ परिवारलाई जग्गा प्रदान गरिएको उहाँले बताउनुभयो । उनीहरुले २० वर्षसम्म सो जग्गा प्रयोग गर्न पाउने छन् । त्यसपछि गाउँपालिकाले सो जग्गाको कसरी प्रयोग गर्ने निर्धारण गर्ने उहाँले बताउनुभयो ।
“हामीले सुपारी खेतीलाई प्राथमिकता दिएका छौं, यसले आय आर्जनसँगै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न मद्दत मिल्ने अपेक्षा छ”, उहाँले भन्नुभयो, “लाभग्राहीहरुले आफ्नो चाहना अनुसार तरकारी र खरबुजा खेती पनि गरेका छन् ।” खेतीबाट प्राप्त लाभ शतप्रतिशत उनीहरुले नै पाउने उहाँले बताउनुभयो ।
क्षतिग्रस्त भूमिको व्यवस्थापन गरेर भूमिहीनहरुमा भूमिको पहुँच पु¥याउन योजना पनि रहेको उहाँले बताउनुभयो । प्रतिपरिवार एक सयदेखि एकसय ५० वटा सुपारीको बोट जिम्मा लगाइएको बताउँदै उहाँले भन्नुभयो, “त्यसको देखरेख लाभग्राहीले नै गर्नुपर्छ, प्राप्त प्रतिफल पनि उनीहरुले पाउँछन् ।”

करिब ५० बिघामा सिञ्चाइ क्षमताको भएको डिप बोरिङ समेत निर्माण गरिएको छ भने बिरुवा उत्पादनका लागि हाइटेक प्रविधिको टनेल समेत बनाइएको यूएनडीपीका कार्यक्रम अधिकृत सुरज दंगालले बताउनुभयो । “टनेलमा एक पटकमा करिब २७ हजार बिरुवा उत्पादन सकिन्छ”, उहाँले भन्नुभयो, “लेयर बनाएर गर्ने हो भने पाँच लेयरमा एक लाख ३५ हजार भन्दा बढी बिरुवा उत्पादन गर्न सकिन्छ ।”

बगर खेती कार्यक्रम अन्तरगत कचनकवल–५ का कुर्वान मियाले चार कठ्ठा जग्गा प्राप्त गरेको बताउनुभयो । तरकारी र खरबुजा खेती गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “जग्गा पाएर खुसी छु, पहिला सिञ्चाइको व्यवस्था थिएन, अहिले सिञ्चाइ पनि पुगेको छ ।”
विपन्न परिवारलाई जग्गा दिए पनि अपनत्व ग्रहण गराउन र उनीहरुलाई बुझाउन समस्या भइरहेको छ । कपितयले दैनिकजसो सुपारी र आफूले लगाएको बालीको नियमित देखरेख र स्याहारसुसार गरिरहे पनि कतिपयले अझै अपनत्व ग्रहण नगरेको एसएनजेडीका हेमकुमार खड्काले बताउनुभयो ।
“कार्यक्रमलाई सफल बनाउन सरोकारवालाहरुले अझै केही वर्ष नियमित सानो–ठूलो सहयोग गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “लाभग्राहीले प्रतिफल पाउन नथालेसम्म सहयोग गर्नुपर्ने देखिन्छ ।”
गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले यूएनडीपी र एसएनजेडीको कार्यक्रम अवधि समाप्त भए पनि गाउँपालिकाले सोको अपनत्व ग्रहण गरेर विपन्न नागरिकका लागि सुरुवात गरेको कार्यक्रममा निरन्तरता दिने बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
