
- राजेश ढुंगाना
हुट्टिट्याउँले
सगर थामेको दिन मात्र
मेरो
सूर्य उदाउने छ
अस्ताउने होइन
उदाएर उदाएको–उदाएै
चिरञ्जीवी सूर्य मात्र
मेरो सपना हो
हो,
फिस्टाले
हुण्डरी ल्याएको
भोलिपल्ट बिहान मात्र
मेरो समय हो
तिमी मलाई
मेरो सपना नसम्झाउ
तिमी मलाई
मेरो विपना नझस्काउ
मलाई थाहा छ
म
अब तिमीलाई
विगत झैं
वर्तमानको
सपना भत्काउने
छुट दिने छैन कदाचित

अब
छ्याङ्ग
आकाश भएको छु नीलो
जहाँबाट सबथोक देखिन्छ
अब म
फराक धरती भएको छु
जहाँबाट अनन्त देखिन्छ
जन्मनु अघि नै
चिना लेखिइसकेको छ
मेरो आउने समयको
हो,
अब ऊ पक्कै जन्मन्छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
