
राजेश ढुंगाना
कुरा फेरि पनि भ्रष्टाचार, अनियमितता र कुशासनमै गएर ठोक्किन्छ । मुलुकमा यी तीन कुरा र यिनको चर्चा बाहेक अर्थोक कुरा गर्नु नै बेकार छ । लोकतन्त्र प्राप्तिपछि यी तीन कुरा नभइदिएको भए यति सानो र सुन्दर देश विश्वको मानचित्रमा ‘स्वर्ग’ कहलिने थियो । तर, दुर्भाग्य… हाम्रो राजनीतिक नेतृत्वको बेइमानीका कारण यो स्वर्ण मौका गुमाएर मुलुक दशकौं पछि धकेलिएको छ ।
पूर्णतः असफल सिद्ध भइसकेको नेपालको राजनीतिक नेतृत्व लोकतन्त्र आएपछि फलानो–फलानो उपलब्धि भयो भनेर पो बताउन थालेको छ, यतिबेला । बेइमानीको पनि एउटा हद हुन्छ नि ! समयले ल्याएको उपलब्धि बाहेक अरू केही आएको छैन, भएको छैन । यिनीहरूले धक्कु नलगाए हुन्छ – ‘हामीहरूले केही ग¥यौं’ भनेर । भ्रष्टाचार, अनियमितता र कुशासनको डंगुरले के र कस्तो उपलब्धि हासिल गर्नु मुलुकले ?
जनता निराश मात्र छैनन्, आक्रोशित पनि छन् उनीहरूसँग र छन्– चरम असन्तुष्ट पनि । यदि दलका नेतृत्वहरूले ‘केही’ गरिदिएको भए वर्तमानको निराशा, असन्तुष्टि र चरम जन–आक्रोश यसरी फैलने नै थिएन ।
जनता त्यसै रिसाएका, निराशिएका, असन्तुष्ट भएका र आक्रोशित भएका हुँदै होइनन् । जनता शासकसँग त्यसै बित्थामा हत्पत् रिसाउँदैनन् पनि । वर्तमान नेतृत्वकाप्रति पूर्ण रूपको अविश्वास त्यसै पलाएको होइन । नेतृत्वको कुकृत्य र बेइमानीको चरम सीमाले जब मुलुकलाई घात ग¥यो– निरन्तर र बारम्बार, अनि जनता निराश भए, असन्तुष्ट भए, आक्रोशित हुन पुगे । जुन अत्यन्त स्वाभाविक हो ।
यस अर्थमा एउटा कुरा सकारात्मक नै मान्नु पर्दछ कि, कम्तीमा पनि जनता असन्तुष्ट र आक्रोशित त छ । यसबाट के बुझ्न सकिन्छ भने– यो देशको चिन्ता गर्न कम्तीमा पनि जनता त अझै पनि बाँकी रहेछन् ! नत्र भने मुलुक धागो चुँडिएको चंगा वा इन्जिनमा खराबी आएर डुब्दै गरेको पानीजहाज हुने थियो । सुखद पक्ष हो, जनतामा लोकतन्त्र र मुलुकका प्रति यति ठूलो चासो र चिन्ता रहेछ ।
यहाँनेर पुगेपछि कुरा के आउँछ भने, जनताका कारणले नै हाम्रो लोकतन्त्र वा सिङ्गो मुलुकको आशाको धिपधिपे अझै मरेको रहेनछ भन्ने बुझ्नु पर्दछ । कम्तीमा हाम्रो मुलुकका जनता अझै असन्तुष्टि र आक्रोश बोक्न सक्ने स्थिति र हैसियतमा त रहेछन् ! नत्र यो मुलुकको भविष्य झन् के हुने थियो ? अर्थात्, यो मुलुक बचाउने क्षमता, जिम्मा र शक्ति अब केवल जनतामा रहेको छ । नेतृत्वले त आफ्नै बेइमानीका कारण त्यो मौका पूर्णतः गुमाइसकेकै छ ।
यतिबेलासम्म जनता असंगठित आक्रोश र असन्तुष्टिमा छन् । तर, यतिले मात्र पुग्दैन– वर्तमानको बेथितिबाट मुक्त हुन । यसले संगठित रूप लिनै पर्दछ । शायद मुलुक अहिले त्यही आँधी आउनु अघिको चकमन्नताको स्थितिमा छ ।
हो, अब यो मुलकको भविष्य फेरि एक पटक नेतृत्वको हातबाट खोसिएर जनतामा पुगेको छ । यो नै अहिलेको सुखद पक्ष हो । यत्ति पनि नहुँदो हो त – यो मुलकको कुनै भविष्य रहने थिएन । तर अहिले र यसबेला पनि वर्तमानको राजनीतिक नेतृत्व जनता झुक्याउने र दिग्भ्रमित पारेर पुनःपुनः निरन्तर जनतामाथि ‘शासन’ गर्ने असफल एवम् निरर्थक प्रयत्न गर्दैछ !
जनता जागेपछि शासकको केही लाग्दैन । अब नेपाली जनता जागिसकेका छन्, संगठित हुन मात्र बाँकी छ । आखिर मुलुकले लोकतन्त्र र गणतन्त्रका नाममा चरम भ्रष्टाचार, अनियमितता र कुशासन अनन्तकालसम्म थेगिरहन सक्तैन र थेगिनु पनि हुँदैन । तर, वर्तमानको नेतृत्वले सितिमिति टेर्ने लक्षण देखिंदैन । सत्ताको ‘स्वाद’ जो उसमा छ, त्यो त्यसै मेटिनेवाला पनि छैन । तर, उसले निरन्तरको जनअसन्तुष्टि र आक्रोशलाई अब कम नआँके हुन्छ । भोग्नुसम्म अन्तिम सास्ती त जनताले भोगिसके र गुमाउनु पर्ने अन्तिम कुरा पनि गुमाइसकेका छन् । अब उसले के गुमाउने ? उसको हातमा त प्राप्ति नै प्राप्ति छ – विद्रोह बोल्दा, जनविद्रोह गर्दा ।
हो… मुलुक ‘जनविद्रोह’को संघारमा छ; जुन विद्रोह लोकतन्त्र, वास्तविक र परिणामदायी गणतन्त्रकै निमित्त हुने छ । जनता जागेको वर्तमान स्थितिले यही बताउँछ र बताउँदछ – वर्तमान नेतृत्वको आयु अब ढिलो– चाँडो सकिन्छ, सकियो । जनता जागेपछि संसारमा कस्तै र कुनै शासकको पनि केही लाग्दैन । र, हाम्रो मुलुक पनि यसको अपवाद हुन सक्तैन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।