
बनियानी, झापा, ९ असार ः पूर्वी नाका काँकरभिट्टा हुँदै भित्रिने भारतीय माछाको आयात घट्दै गएको छ ।
पछिल्लो पाँच वर्षयता भारतबाट आउने माछाको आयात क्रमशः घट्दै गएको एनिमल क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिंहका अनुसार चालू आर्थिक वर्ष २०७४÷७५ को ११ महिनाको अवधिमा काँकरभिट्टा नाकाबाट एक हजार ४१० मेट्रिक टन माछा आयात भएको छ । यो अघिल्लो आवको तुलनामा ७९ मेट्रिक टन कम हो । आव २०७३÷७४ मा एक हजार ६७५ मेट्रिक टन माछा आयात भएको थियो ।
त्यस्तै, आव २०७०÷७१ मा भारतबाट दुई हजार ८० मेट्रिक टन, २०७१÷७२ मा दुई हजार १०९ मेट्रिक टन, २०७२÷७३ मा एक हजार ७३६ मेट्रिक टन माछा भारतबाट आएको कार्यालयको तथ्याँङ्क छ ।
पाँच वर्षयता माछा आयातमा ६० प्रतिशतले कमी आएको छ । पछिल्लो समय नेपालमा माछाको व्यावसायिक उत्पादन हुन थालेपछि भारतलगायत तेस्रो मुलुकबाट आयात हुँदै माछाको परिमाणमा कमी आएको हो । काँकरभिट्टा नाका हुँदै आयात हुने माछा झापा, इलाम, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा खपत हुने गरेका छन् ।
झापामा ३० हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । जिल्लामा गत वर्ष ३।५ मेट्रिक टन माछा उत्पादन भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापामा माछा ब्लक कार्यक्रम सञ्चालन भइरहेको छ ।
सरकारले एक हेक्टर क्षेत्रफलमा माछापालन गर्दै आएका किसानलाई रू तीन लाख अनुदान उपलब्ध गराउँदै आएको कृषि विकास कार्यालय झापाका मत्स्य विकास अधिकृत प्रदीप श्रेष्ठले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

