
बिर्तामोड, १० असारः बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा कृषि, शिक्षा र सहकारी क्षेत्रको प्रबद्र्धन र विकासमा केन्द्रित नीति तथा कार्यक्रमलाई प्राथमिकता दिँदै रू ८० करोड १७ लाखको प्रस्तावित बजेट सार्वजनिक गरेको छ ।
दोस्रो नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले मूलतः शिक्षा, सहकारी र कृषिमा केन्द्रित विकासका योजना र स्वास्थ्य, पर्यटनजस्ता क्षेत्रमा लागानी बढाइएको जानकारी दिनुभयो ।
बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा बडा नं १ का अध्यक्ष अग्निप्रसाद पाण्डेका अनुसार गत बर्षको तुलनामा शिक्षामा ६४ प्रतिशत बजेट बृद्धि गरी २ करोड ३४ लाख २० हजार पु¥याइएको छ भने कृषि क्षेत्रमा नगर प्रमुख विषादिमुक्त कार्यक्रम र सहकारी क्षेत्रको विकासका लागि स्मार्ट कोअपरेटिभ मार्केट निर्माणदेखि झापा कोप स्टान्डर्ड लागू गर्नेसम्मका कार्यक्रम समेटिएका छन् ।
प्रमुख शिबाकोटीद्वारा प्रस्तुत कार्यक्रममा शिक्षाको गुणस्तर कायम गर्नका लागि बिद्यालयलाई सहयोगसँगै अवकाश लिन चाहने शिक्षकलाई गोल्डेन ह्याण्डसेकसम्मका योजना छन् भने स्वास्थ्यमा नगर उपप्रमुख महिला सुरक्षा कार्यक्रम, सहकारीमा ऋण लिएर ऋण नतिर्नेलाई कालो सूचीमा राखेर सुविधाबाट बञ्चित गराउनेसम्मका नीतिगत योजना प्रस्तुत गरिएको छ ।
नगरसभामा बजेट पेश गर्दै उपप्रमुख पवित्रादेवी महतारा प्रसाईंले गत वर्षका कतिपय योजनाको निरन्तरता र केही नयाँ योजनाका साथ ८० करोड १७ लाख ७८ हजारको बजेट पेश गर्नुभयो । नगर सभालाई सम्बोधन गर्दै वडा नं ३ का अध्यक्ष तथा नेपाली कांग्रेस नगर सभापति भोजराज सिटौलाले नगरका विकासका योजनामा राजनीति नगर्ने र विकासका काममा एक भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

