
बिर्तामोड, ६ असार । झापाको बिर्तामोड नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने भारी उपकरण खरीद गरेर डेढ करोड बढी रकम बचत गरेको छ ।
नगरपालिकाले रू ३ करोड ५० लाखको लागतमा जेसीभी, स्काभेटर लगायतका उपकरण खरीद गरेर रू १ करोड ४५ लाख बचत गरेको हो । ‘मेसिनरी सामान किनेर हामीले नगर क्षेत्रका ३० किलोमिटर सडक मर्मत गरेका छौँ’, नगरप्रमुख ध्रुव शिवाकोटीले भन्नुभयो, ‘ठेक्का लगाएर काम गर्दा डेढ करोड खर्च हुने थियो ।’
नगरप्रमुख शिवाकोटीले ती उपकरणले एक महिना मात्र काम गर्दा मात्रै करिब आधा लागत बराबरको काम भएको बताउनुभयो । ‘सात लाख जति इन्धनमा खर्च भएको छ’, उहाँले भन्नुभयो, ‘नगरपालिकाले आफैँ काम गर्दा गुणस्तरीय हुनुका साथै बचत पनि हुन्छ, बचत भएको रकम अरु नै काममा खर्च गर्न सकिन्छ ।’
यता, आर्थिक वर्ष २०७४÷०७५ मा नगरपालिकाले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ ।
नगरपालिकाले रू १० करोड २६ को लागतमा नगर क्षेत्रमा सञ्चालन गरेको भौतिक पूर्वाधार निर्माणको काममा ८० प्रतिशत प्रगति हासिल गरेको नगरपालिकाका कार्यालय प्रमुख पशुपति खतिवडाले जानकारी दिनुभयो ।
त्यस्तै, पशु क्षेत्रमा विनियोजित रू १ करोड ४२ लाख ९४ हजारको विभिन्न कार्यक्रममा ८० प्रतिशत, कृषि क्षेत्रमा विनियोजित रू १ करोड ५६ लाख ८५ हजारमा ८० प्रतिशत, शिक्षामा क्षेत्रमा विनियोजित रू १ करोड ४२ लाख ५० हजारको कार्यक्रममा ७५ प्रतिशत र स्वास्थ्य क्षेत्रमा विनियोजित रू ५६ लाख ४१ हजारको कार्यक्रममा शतप्रतिशत प्रगति हासिल भएको नगरपालिकाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

