
शिवगञ्ज, २३ असार । झापाको शिवसताक्षी–६ शिवगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बिहीबारबाट एक्स–रे सेवा सञ्चानलमा आएको छ ।
दक्षिणी क्षेत्र पाँचगाछी, महाभारा, बैगुनधुरा, शरणामती र धरमपुरका सेवाग्राहीहरुलाई लक्षित गरेर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सञ्चालन गरेको हो । बिहीबार, स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा शिबसताक्षी–६ का वडाध्यक्ष एवम् युवा नेता मनोज कार्कीले उक्त सेवाको उद्घाटन गरेका थिए । उनले धेरै लामो समयदेखी एक्स–रे सेवाको अभावमा ग्रामीण क्षेत्रवासीहरु सामान्य प्रकारका स्वास्थ्य समस्यामा दमक–बिर्तामाडसम्म पुग्नुपर्ने बाध्यता रहेको बताए ।
आर्थिक दृष्टिकोणबाट यहाँको नागरिकहरुले दमक र बिर्तामोडसम्म पुगेर एक्स–रे सेवा लिनुपर्ने पिडादायी यर्थाथ थियो, अव यो समस्या समाधान भयो, वडाध्यक्ष कार्कीले भने,जनताले उपेक्षा गरेका आधारभूत समस्याहरु पुरा हुदै जानेमा ढुक्क रहनुहोस् ।
उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाका सभापति नारायण प्रसाद दाहाल, शिवसताक्षी उद्योग बाणिज्य संघका अध्यक्ष भोला प्रसाद मैनाली, केन्द्रका डा.सगुन खत्री, डा.अमित परियार, प्राथमिक स्वास्थ्य केन्द्र गुणस्तर सुधार समितिका सदस्य दीपक भेट्वाल, स्वास्थ्य केन्द्र सञ्चालक समितिका पूर्वअध्यक्ष भीम ताजपुरिया, नगर स्वास्थ्य संयोजक रोशन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
सेवा उद्घाटन पश्चात शिवसताक्षी–६ की शान्त मैनालीले हार्डजोर्नी सम्बन्धी र वडा नं ९ का रुद्रप्रसाद अधिकारीले छातीको परिक्षण गरेको एक्स–रे सेवा रेडियोग्राफर अनिशा श्रेष्ठले बताईन् । सेवा सञ्चालनको निम्ति नगरपालिकाबाट ३ लाख ७५ हजार प्राप्त भएको वडाध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष मनोज कार्कीले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

