
कविता
लक्ष्मीप्रसाद कोइराला
सरकार !
म पढ्दै छु
शैक्षिकसत्रको
प्रारम्भिक दिनदेखि नै
डोको नाम्लो र
चिरपटका किताबहरु
म पढ्दै छु
१
चिप्लेटी ढुङ्गाका
डेक्सबेन्चमा ठिङ्ग उभिएर
आफ्नै भूगोलका
जीवनगति र पाठ्यक्रमहरु
म पढ्दै छु
खलियाघरको
पाठशालासम्म पुगेर
जीवनका प्रत्येक पानालाई
पल्टाइ पल्टाइ
म पढ्दै छु!
२
घाँस दाउरा र
गोठालाका कथाहरु
दिदीबहिनीहरुले पढेका
ढिकीजातो र पधेरोका पाठहरु
म पढ्दै छु!
दाजुभाइहरुले
दार्जीलिङ र सिक्किमतिर
कान्छा,कपतान र नाम्ले भएर
भोगेका हेयका पाठहरु
म पढ्दै छु!
३
म नजन्मीकनै
मेरा बाउ र काकाहरुले
अरुले सुट्केस बोकेको देखेर
आफू विदेशिएपछि
आज जेलबाटै लेखेका
दुखका चिठीहरु
म पढ्दै छु!
४
जुन मैले पढ्दा पढ्दै
समाचार सुने
एफ एम रेडियाको
भोलुम ठूलोहुँदा
अनि म रोएँ धुरुधुरु
त्यसपछि आमापनि हिडिछन्
बाउ खोज्न शहरतिर
मोबाइल बोकेर
सायद भेट्छिन होला
बाउलाई एरपोर्टमा
जम्बो जेटले ल्याएको
क्याफिनभित्र
एक थान राहतका
चेकहरु सहित
ढुस्सी परेको चामललाई
हेलिकप्टरले बोकेर
गोदाममा सडाउने
त्यो खाद्यविज्ञान
म पढ्दै छु!
५
कतै भेटिन्छन् कि
मेरा बालअधिकारका
एकथान ठेलीहरु भनेर
धुइपत्ताल खोज्दै
डोको नाम्लो र
हसियाका किताबहरु
म पढ्दै छु!
तर म पाउदिन।
सायद हुन सक्छ
माइतीघर मन्डलातिर
कुर्लिदै होलान्
या भित्तामा ब्यानर
लगाउने या नलगाउने विषयमा
रावण्ड टेबुलको मिटिङ्गमा
बहस चलाउदै होलान् भनेर
म पढ्दै छु!
६
मेरो दुईछाक भात र
आङ ढाक्ने एकधरो लुगा
अर्थात मेरो घरको
प्वाल परेको छानो टाल्ने
खै कहाँ गयो??
त्यो बाणिज्य शास्त्र भनेर
म पढ्दै छु!
खै कहाँ गयो ??
ठूलीकान्छीले
काजीको खेतमा
जनबनीगर्दा चुहाएको
त्यो पसिनाको श्रमशास्त्र भनेर
म पढ्दै छु!
७
थापा काजीको
त्यो बटिया खेतमा
एकहल पानाका गोरु
आलिआली लगेर
उसिना चामलको कलौ खादै
हलो जोत्न सिकाउने
हाम्रो आधुनिक कृषिबिज्ञान
म पढ्दैछु!सरकार !!
म पढ्दै छु!!
इटहरी (9842060076)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

