
झापा १२ असारः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुई छिमेकी राष्ट्रसँग व्यापार विस्तार गर्न प्रदेश सरकार लागि परेको बताउनुभएको छ ।
झापाको भद्रपुरमा सोमबार समाजसेवी स्व देवीप्रसाद उप्रेतीको २६ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले प्रदेश नं १ को भारत र चीनसँग जोडिएको सीमा क्षेत्रमा थप व्यापारिक नाका विस्तारका लागि प्रदेश सकार लागेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री शेरधन राईले भन्नुभयो, “आर्थिक समृद्धिका लागि नेपाली उत्पादन विदेश निर्यात गर्नु आवश्यक छ, त्यसका लागि मुख्य नाकासँगै अन्य नाका पनि स्थापना गर्नुपर्छ, प्रदेश सरकार अहिले त्यसको तयारीमा छ ।”
पूर्वमा चिया, अदुवा, अलैँची, अम्लिसोलगायत कृषिजन्य वस्तु उत्पादनमा जोड दिनुपर्ने बताउँदै उहाँले भारत, चीन, बंगलादेश, भुटानलगायत देशमा त्यस्ता उत्पादनलाई निर्यात गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री राईले भन्नुभयो, “त्यसका लागि अहिलेको नाका मात्र पर्याप्त छैन, नाका विस्तार जरुरी छ ।”
जनताको चाहनाअनुसार बजेटमार्फत नीति तथा कार्यक्रम आएको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा स्व उप्रेतीको नाममा स्थापित साहित्य, शिक्षा र पत्रकारिता विधामा तीन जनालाई पुरस्कृत गरिएको छ ।
पुरस्कृत हुनेमा साहित्यकार होमनाथ अधिकारी, शिक्षासेवी उमानाथ ओली र पत्रकार तारामणि सापकोटा हुनुहुन्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
