
द्रोण अधिकारी “गुयेली”
एकाविहानै राजीव सुतिरहेको अवस्थामा उसको भतिज ओछ्यानमा आएर सोध्छ, र्— अंकल आज नेपाल बन्द हो?’
‘खै ! भतिज मलाई थाहा भएन । अचेल पिसाव फेर्न ट्वाइलेट जाँदा ठेस लाग्यो भने पनि नेपाल बन्द गरिन्छ । किन तँलाई स्कुल जान मन लागेन कि कसो हो ?’
‘त्यस्तो त होइन । आज साथीको ब्रतमन्न छ , मलाई स्कुल नगइ छिट्टै आइज है भन्थ्यो ।’
‘चुपचाप स्कुल जानुको सट्टा के को ब्रतमन्न विहे ताक्छस् । खुरुक्क स्कुल जानु बुझिस् ।’
‘साच्चै भन्नुहोस्न अंकल आज नेपाल बन्द हो त ?’
‘ल ! आज नेपाल बन्द ।’
‘किन ?’
‘किनकी तीन महिनादेखि विहे गर्ने भनेर राम्री केटी खोजेर हिडेको जुत्ता फाटे तर भनेजस्ता केटीले पत्याउदा पनि पत्याएनन् । सवै टोलटोलमा उर्दी जारी गर वजार कलकारखना बन्द गर्न, यो पनि भन् खतरनाक समूहको बन्द हो जे पनि हुन सक्छ । कतै तेरो इच्छा पूरा हुन्छ कि त ?
अंकलको कुरा सुनेपछि भतिज उफ्रदै कोठा बाहिर गयो । राजीव पनि पूरै उज्यालो भइसकेकाले उठेर सरसफाइमा निस्कियो । सधै मुख धोएर कोठामा आइपुग्दा चिया लिएर आउने भतिजको भने अत्तोपत्तो थिएन । उसले आज आफै चिया लिएर आयो र एक्लै कोठामा बसेर पिउन थाल्यो ।
एकछिन पछि ‘आमा आज नेपाल बन्द भयो नि !’ भन्दै घर छिरेको भतिजालाई देख्छ । राजीवले भतिजालाई बोलाउदै भन्छ र्— राकेश यहाँ आइज त ! तँ कहाँ गएको थिइस् । काम छैन तेरो ?’
‘नेपाल बन्द गर्न ।’
‘हँ ! खुस्कियो कि कसो ?’
‘अघि तपाँईे आफैले नेपाल बन्द गर्ने भन्नु भएको होइन ? त्यसैले मैले सवैतिरका टोलटोलमा प्रचार—प्रसार गरेर आँए । त्यसैले अब साच्चै नेपाल बन्द भयो ।’
‘मेरो नाम लिएर टोलभरी बेइज्जत गरिस् कि कसो ? तँलाई त जिस्क्याएको मात्र थिएँ नि !’
‘मलाई त्यति बेभकुभ नसम्झनु है अंकल आइडियावाल मान्छे पो त……..!’
घरअगाडि सयौंको संख्यामा सवारी साधन गुड्ने सडक थियो । आज त्यहाँ एउटा पनि सवारीको साधन गुडेको देखिदैन । राजीव आश्चर्य मान्छ । ‘साच्चै नेपाल बन्द भयो कि कसो भनेर उसको मनमा खुलदुल चल्छ । भात खाएर बजार डुल्न भनेर ऊ निस्कन्छ ।
‘रामलखन किन पसल बन्द ?’
‘अरे दाजु थाहा छैन ? आज झन ै खतरनाक समूहले नेपाल बन्द आयोजना गरेको छ । पसल खोल्यो भने ज्यान जाने धम्की छ । कसको आँट छर पसल खोल्ने ?’
‘के छ रिक्सावाल ?’
‘ठीक छ दाजु, यसरीनै बन्द होस् यहि कामना छ । हामीले मात्र सुख्खा जीवन कति बाँच्नु त ? यसो छोटो मोटो रकमले रसाउन पाउनु पर्यो नि हैन त ?’
‘के भयो दाइ ?’
‘केहुनु भाई ! सुत्केरी हुन नसक्दा मृत्यु भयो नि ! याम्बुलेन्स बोलाउँदा आएन , बोकेर ल्याउँदा—ल्याउँदै बाटैमा………।’
राजीव बन्दको प्रभाव हेरेर फर्कदा धिर्कादै भन्छ — ‘थुइक्क समय होहल्लाकै भरमा यस्तो सन्त्रास फैलने । अकालमा मर्नु पर्ने , विनाकारण शोषित हुनु पर्ने, भोकभोकै मर्नु पर्ने । हल्लैहल्लाले सुन्दर भविश्यमाथि खेलवाड गर्ने कस्तो नेपाल बन्द हो ?’ सोच्दासोच्दै घर आइपुग्छ । दिनभरको थकानले लखतरान भएर कोठामा पस्छ ।
भद्रपुर–१०, चन्द्रगढी (झापा)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

