
काठमाडौं, १४ वैशाख । बैशाख ५ गते बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत भारतीय नागरिकहरुमा कोरोना पुष्टि भएको हो ।
उनीहरुमा कोरोना पुष्टि भएसँगै अहिले क्रसर रहेको क्षेत्र र त्यस वरपर उच्च निगरानी र सतर्कता अपनाएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
भारतको बहराइच प्रशासनले बाँकेको इलाका प्रहरी कार्यालय जमुनाहालाई शुक्रबार पत्र लेखेर यस बारे जानकारी दिएपछि मात्रै उनीहरु संक्रमित रहेको नेपाली पक्षले थाहा पाएको थियो । कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा उनीहरुको कनेक्सन कोठियाघाटस्थित क्रसर उद्योगसम्म रहेको पत्ता लागेको प्रजिअ लामिछाने बताउँछन् ।
त्यसलगत्तै क्रसर उद्योगमा कार्यरत सबै मजदुरको थ्रोट स्वाबको नमूना लिएर परीक्षण गरिएको थियो । तर, अन्यमा कोरोना संक्रमण नदेखिएको प्रजिअ लामिछानेले बताए ।
उनले भने, ‘हामीले थाहा पाउनासाथ पीसीआर टेष्टका लागि पठायौं तर कसैमा पनि पोजेटिभ रिजल्ट आएको छैन ।’ उनीहरु कार्यरत क्रसर उद्योगमा पाँच भारतीय र ११ नेपाली नागरिक रहेको बताइएको छ ।
कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले नेपाल र भारत दुवै पक्षले सीमा नाका बन्द गरे पनि ती भारतीय नागरिकहरु नेपालबाट लुकिछिपी भारत गएको हुन सक्ने अनुमान गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

