
काठमाडौं, ४ भदौ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीसँग प्याकेज सहमति हुन लागेको बताएका छन् । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदललाई सोही आधारमा सुझाव प्रस्ताव ल्याउने कार्यादेश दिइएको उनले खुलाए।
एक टेलिभिजन अन्तर्वार्तामा अध्यक्ष दाहालले संघीय सरकारको मन्त्रिपरिषद् पुनर्गठन, प्रदेश सरकार पुनर्गठन, थपघट, ठूला राजनीतिक नियुक्ति, स्थायी समिति एजेन्डामा साझा सहमति हुने बताएका हुन् । उनका अनुसार अधिकार बाँडफाँट, प्रतिपक्षी दलसमेतको साथमा संवैधानिक नियुक्तिलगायत विषय पनि प्याकेजमा टुंग्याइने छन्।
‘दुइटा अध्यक्षबीच पनि समझदारी बनाएर टुंगो लगाउने भन्नेमा हामी सबै सहमत छौं। त्यसकारण अब एकएक व्यक्तिका निम्ति झगडा भएर बस्दैन भन्ने मेरो विश्वास छ’, उनले भने। नेकपामा पौडेल नेतृत्वको कार्यदलले सुझाव प्रस्ताव ल्याएपछि स्थायी समितिबाट पारित गर्ने र केन्द्रीय समिति हुँदै महाधिवेशनमा जाने तयारी छ। ‘स्थायी समितिबाट प्रस्ताव पारित गर्ने र केन्द्रीय समितिबाट महाधिवेशनमा जाने भनेपछि अब पदको कुरा छैन। यो विषय हामो मुख्य हिजो पनि थिएन। मान्छेले बुझ्दा यो हाम्रो बहस पदकै लागि भएको हो कि भन्ने नेगेटिभ ९नकारात्मक० अलि बढी गयो। यथार्थ त्यस्तो होइन’, दाहालले भने, ‘पार्टी एकताको कुरा गर्दा होस् या गठबन्धन गरेर चुनावमा जाँदा हामी पदको बार्गेनिड गरेर गएका थिएनौं, पदको बार्गेनिड गरेर गएका हुन्थ्यौं भने पार्टी एकता नै हुँदैनथ्यो।’
नेकपाका दुई अध्यक्ष केपी ओली र दाहालले गत शुक्रबार महासचिव पौडेलको नेतृत्वमा शंकर पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा, भीम रावल र सुरेन्द्र पाण्डे रहेको ६ सदस्यीय कार्यदल गठन गरेका थिए। यो कार्यदलले काम गरिरहेको छ। प्रधानमन्त्री ओलीले गत साता ५ दिनभित्रै पार्टीमा नयाँ सिनारियो देखिने बताएका थिए। दाहालले पनि तत्काल नयाँ परिस्थिति निर्माण हुने बताए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


