

दश वर्ष अघि अर्थात् सन् २००८मा एउटा औपचारिक कार्यक्रममा केही विद्वत साथीसँग मेरो भेटघाट भयो । कार्यक्रम के थियो, अहिले मलाई यकिन भएन । कार्यक्रम सकिएपछि केही साथीबीच अनौपचारिक कुराकानी भयो । त्यसैक्रममा एक जना मित्रले भन्नुभयो, ‘सन् २०१५ भित्र भारत र चीनको सहमतिमा नेपालको अस्तित्व यही अवस्थामा रहने छैन ।’ म त्यसपछि यस विषयको औपचारिक पुष्टि हुने सम्भावनाको खोजी गर्न थालेँ । यसै क्रममा मैले थाहा पाएँ भारतमा सन् २०२५ देखि खानेपानी शुन्य हुँदैछ ।

जमिनमुनिको पानी खान योग्य छैन र हिमालबाट बगेर आएको एकमात्र नदी गंगा, पहाड कटेर फाँटसम्म पुग्दा धेरै दुषित भइसकेको हुनेछ भन्ने पनि सुनेँ । यही क्रममा करीब ३ वर्ष पहिले मनकामना कलेज विर्तामोडमा मेरो भेट मेची क्याम्पसका पूर्व प्रमुख तथा इतिहासका प्राध्यापक खगेन्द्र प्रसाईं सरसँग भयो । मैले मेरो कौतुहल मेटाउन उहाँसँग सोधेँ । उहाँले त्यसलाई अझ प्रस्ट पार्न सन् १९२५ तिर जवाहरलाल नेहरुले भारतका विज्ञहरुसँग भारतको खानेपानीको विषयमा बुझ्दा १०० वर्ष पछि देशमा खानेपानी नहुने र त्यसको बैकल्पिक स्रोत नेपाल हो भनेका थिए । १९७५ मा इन्दिरा गान्धीले त्यसलाई फेरि दोहार्याएको कुरा समेत बताए । त्यसबेला करिब ५० वर्षपछि भारतमा खानेपानीको स्रोत नहुने र त्यसको एकमात्र विकल्प नेपाल हो भनेकी थिइन् । अझ, उनले आफ्ना बुबाले त्यसबेला नेपाल र भुटानलाई भारतमा नगाभेर गल्ती गरेको कुरा समेत भनेकी थिइन् भन्ने कुरा समेत सुनियो । उहाँले भन्नुभयो ‘अब हामीलाई भारतबाट हुने खतरा भनेको खानेपानीकै लागि हो ।’
आज हेदैर् गर्दा अपर कोशी बाँधको सम्झौता त्यसैसँग मिल्न आउँछ । पंक्तिकार के निश्कर्षमा पुगेको छ भने हाम्रा सम्पूर्ण नदीको पानी त भारत नै पुगेको छ । तर, त्यहाँ पुग्दै गर्दा जमीनको सतह धेरै तल, पानीको फैलावट धेरै र केही बढी दुषित भएको छ । त्यो पानी नेपालको चुरेबाट नेपाललाई केही रकम तिरेर भारत लान चाहन्छ भने हामीले आपत्ति मान्नु हुँदैन ।
यहाँ म अर्काे सन्दर्भ पनि जोड्न चाहन्छु । मैले धेरै साथीलाई काठमाडौँ भन्दा दिल्ली पश्चिम–उत्तर पर्छ भन्दा मलाई पागल समेत भने । कसैले बिर्तामोडबाट पनि दक्षिण–पूर्व समेत भने । हो, काठमाडौँभन्दा दिल्ली उत्तरै पर्छ । अब भारतको नक्सलबाट नेपालको चुरे हुँदै दिल्ली जोड्ने बाटो र रेलमार्ग बनाउने, नेपालका सबै शहरमा लिंकरोड जोड्ने र भारतको बंगाल राज्यलाई केन्द्र मानेर पूर्व तर्फ भारतका नौ वटा राज्य (बंगाल, सिक्किम, आसाम, अरुणाञ्चल, मेघालय, मिजुरम, नागाल्याण्ड, मणिपुर र त्रिपुरा) सिधा दिल्ली पहुँचमा स्थल मार्गबाट कति र आकाश मार्गबाट कति समय, श्रम तथा इन्धन बचत हुनसक्छ आफैँ अनुमान लाउन सकिन्छ । यसका लागि भारत नेपाललाई कति रकम तिर्न तयार हुनसक्छ ? तसर्थ खानेपानी, स्थल यातायात र हवाईमार्गका लागि दुवै देशका प्रतिनिधिले वार्ता गर्ने हो भने नेपाललाई समेत ठूलो अवसर प्राप्त हुने सम्भावना देखिन्छ ।
नेपालका सबै नदीको पानी खान योग्य छ । प्रायः सबै नदी हिमालबाट आएका छन् । त्यो पानी भारत नेपालको चुरेबाट लान चाहन्छ । उसले चुरेबाट बाटो बनाएर गाडी, रेल, हवाइमार्गको समेत प्रयोग गर्दै बाटो र पानीको रकम तिर्ने हुँदा यो मनग्य आम्दानीको स्रोत हुन्छ । यसमा नेपालले पनि आफ्नो देशको स्वार्थ राखेर वार्ता गर्न सक्छ । यसमा नेपालीलाई के आपत्ति रहन्छ ? अब रह्यो हाल नेपालभित्र मात्र गुड्ने रेलको कुरा । जसमा मेचीको झापादेखि महाकालीको कञ्चनपुरसम्म मात्र यात्रा गर्ने यात्रु दैनिक कति होलान् । साथै बीचमाा चढ्ने र उत्रने यात्रु कति होलान् ? सायद हाप्तामा एक दुई कुद्ला जसले हाम्रो आवश्यकताको कति पनि भाग पूरा गर्न सक्दैन । तर त्यसलाई दिल्लीबाट काठमाडौं, काठमाडौंबाट गुहाटी तथा सिधा दिल्लीबाट गुहाटी भएमा दैनिक कम्तिमा पाँच÷सात वटासम्म रेल चल्न सक्छ । हामीलाई जहाँबाट जहाँसम्म पनि जान आउन सहज हुन्छ । यति गर्दै गर्दा भारतलाई फेरि अर्काे सफलता पनि प्राप्त हुन्छ । चुरेको सडक यातायातबाट एक किलो मिटर बाटो उत्तर खनेपछि बिजुली निकाल्न सकिन्छ । फेरि त्यसको एक किलो मिटर उत्तर अर्काे ठाउँबाट बिजुली निकाल्न सकिन्छ । यसरी नै पाँच÷सात ठाउँमा बिजुली निकाल्न सक्ने नदीहरु हामीसँग सयौँ छन् । यी सबैलाई मिलाएर एउटै प्याकेजमा वार्ता गरी नेपालको मुहार फेर्न कति पनि वर्ष लाग्दैन ।
मैले यसो भन्दै गर्दा केही साथीले तँ भारत परस्त भइस् पनि भने । भारतले केही गर्दैन चीनसँग सम्बन्ध बिस्तार गरे सबै थोक चीनबाट नै प्राप्त हुन्छ समेत भन्ने कुरा आए । तर मलाई त्यस्तो लाग्दैन । नेपालले चीन र भारत दुबै देशसँग मित्रता कायम राख्नै पर्छ । चीन, नेपाल र भारतकोे सुरक्षा प्रत्याभूति गर्न तीनै देशका सुरक्षा विद्हरु बसी एउटा टुंगोमा पुग्न जरुरी छ । चीनलाई नेपालको भूमि प्रयोग गरी भारतसँग व्यापार बढाउनु छ । उसले भारतसँग सम्बन्ध बिगारेर नेपालसँग मात्र सम्बन्ध सुधार गर्न चाहँदैन । चीन त व्यापारीक मुलुक हो । त्यसले गर्दा उसले भारतका करिब एक अर्ब ५० करोड नागरिकसँगको व्यापार छोडेर करिब ३ करोड नेपाली सँगको व्यापार गर्दैन । तर, भारतलाई आप्mनै देशको एक कुनाबाट अर्काे कुनासम्म पुग्ने सहज बाटो र खानेपानी चाहिएको छ । यसले गर्दा भारतको सम्बन्ध नेपालको मधेशसँग मात्र नभएर सिधैँ चुरेसँग पनि हुने, नाकाबन्दी नहुने र भारतीय रुपैयाँ सटहीमा सहजता हुनेसमेत कारणले यो मौका नेपालले कुनै हालतमा छोड्नु हुँदैन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
