
— अनुपा भेटवाल
रातपछि मिर्मिराउँदै गरेको बिहानी हुँ कि म
थोपा–थोपा शीतले भिजेको मुलायम दुबो हुँ म,
घामको न्यानो स्पर्श दिंदै आएको किरण हुँ कि म
चराचुरुङ्गीका चिरबिर गुञ्जिरहेको आवाज हुँ म ।
को हुँ म, आखिर को हुँ म ?
पर्खाइ र व्यथापछि सन्तानको आगमनले ल्याएको न्यानो अंगालो हुँ कि म
काँधमा थपिएका जिम्मेवारीसँगको खुशीको मुहार हुँ म,
बुढेसकालको सहारा बन्नलाई संघर्ष गर्दै अघि बढिरहेका पाइला हुँ कि म
केही गर्न नसकेर छट्पटीले आत्तिएको मन र आँशुले रसाएको आँखा हुँ म ।
को हुँ म, आखिर को हुँ म ?
नीलो आकाशमा स्वतन्त्र भएर पङ्ख फिँजाइ उडेको चरी हुँ कि म
अन्धकारको भुमरीमा पश्चातापले निसास्सिएको कैदी हुँ म,
थाकेर आएका काँध र काख खोज्ने शिरको शीतल छहारी हुँ कि म
आत्मा छुट्टिएको शरीरमा दन्किरहेको चिताको आगो हुँ म ।
को हुँ म, आखिर को हुँ म ?
गर्जिदै आएको कालो बादलले उडाउँदै लगेका ती मीठा सपना हुँ कि म
पहँेलिएर झरेका पातपछि आनन्दित मनमा पलाएका मुना झैं आशाका लहर हुँ म,
बन्द आँखामा उडिरहेको केशसँगै कानमा गुञ्जिरहेको हावाको स्पर्श हुँ कि म
नीलो सङ्लो समुन्द्र जस्तै अनेकौं प्रश्न उठिरहने मनको भावको गहिराइ हुँ म ।
को हुँ म, आखिर को हुँ म ?
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


