
राजेन्द्र गौतम
छोरी जन्मने दिन
आमालाई बेजोड हतारो थियो
सन्तान जन्माउन होइन
छोरा हेर्नलाई
आमाले जन्माइन्, हेरिन्
तिमी छोरा थिएनौँ, छोरी थियौ
तिमी जन्मियौ हुर्कियौ र बढ्यौ ।
समय चक्रसँगै
तिमी असरल्ल भएको साँझ
बिल्कुल तिमीलाई होइन
उसलाई आफैं सम्हालिने हतारो थियो ।
तिमी बेहुली भएर भिँत्रदै गर्दा
उसलाई आफ्नै अपराधहरु
ढाकछोप गर्न
नितान्त अर्को हतारो थियो ।
साँच्चै साँझ परेर पराइको
घर तिमी पुग्दा
पराइलाई सुहागरातको नसा चढेको थियो ।
बिचरी !
तिमीलाई के थाहा ?
पुरुष एकाङ्की हुन्छ भनेर ।
एउटा शिशु जन्मन्छ
प्राकृतिक नियम हो
प्रक्रियामा औस फरक छैन
तर, तिमी घर सम्हाल्न तयारिँदै गर्दा
पुरुष बेसुरा बनिरहेको हुन्छ ।
एउटा नारी घरमा जन्मन्छे
त्यो माइत हुन्छ
पराइ घर जान्छे
आफ्नो घर हुन्छ
गुलाम गर्न सके प्रिय हुन्छे
प्रतिवाद गरे अलच्छिनी ।
मात्र होर !
उसका उपमा यति हुन्छन्
व्यक्त गर्न नै संकोच लाग्ने
कहिले उ उखर्माउली हुन्छे
कहिले उ नक्कली
हुँदाहुँदा उ पात्तर्नी
र,अनि वेश्या हुन्छे ।
दिक्कार छ पुरुष
तिम्रो पुरुषोत्वले एउटा छोरीलाई
सबै बनायो
तिमी बाउ बन्यौं
हजुरबाउ बन्यौं
तर, छोरी कहिल्यै छोरी भइन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


