झापा, ३ जेठ । झापामा विपन्नलाई राहतसँगै निःशुल्क खानाको व्यवस्था गर्न थालिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) लम्बिएसँगै यहाँका विपन्न वर्गका नागरिकलाई राहतसँगै खानाको व्यवस्था गर्न थालिएको हो ।

एकका लागि एक अभियान अन्तरगत झापाको बिर्तामोडको मुक्तिचोकमा समेत निःशुल्क खाना वितरण शुरु गरिएको छ । गत २८ गतेदेखि शुरु भएको खाना वितरण कार्यक्रममा हालसम्म करिब चार हजार मानिसलाई खाना खुवाइएको अभियानका सचिवालय सदस्य गोपाल भट्टराईले जानकारी दिनुभयो ।
‘साबुन पानीले हात धुन लगाएर तयारी खानाको प्याकेट र पानी दिने गरिएको छ’, उहाँले भन्नुभयो । त्यस्तै, हस्पिटल, कोटिहोममा, अपाङ्गता भएका संघसंस्थाहरुमा समेत खाना पु¥याइने गरिएको छ ।
बिर्तामोड नगरपालिका–३ को पाँच स्थानमा सामुहिक खाना खुवाउने कार्यक्रम सञ्चालन गरिएको छ । सहयोगी मनहरुले भोकमरीमा पर्न लागेकाहरुलाई लक्षित गरी ठाउँ–ठाउँमा निःशुल्क खाना खुवाउने व्यवस्था गरेका हुन् ।
बिर्तामोड–३ का व्यवसायी रामेश्वर मण्डलले बन्दाबन्दीका कारण समस्यामा परेकाहरुलाई दुई सातादेखि खाना खुवाउन थालिएको बताउनुभयो । खाना वितरण शुरु गरिएसँगै खान आउनेहरुको संख्या पनि दिनहुँ थपिँदै गएको उहाँको भनाइ छ ।
बिर्तामोड–३ को मेची आँखा अस्पताल अगाडि, सैनिकमोडको करेलाबारी, बिर्ताबजार, नयाँ समावेशी टोल र चौसठ्ठी काली मन्दिर टोल गरी पाँच स्थानमा निःशुल्क खाना खुवाउने कार्यक्रम सञ्चालन गरिएको हो ।
मेची आँखा अस्पताल अगाडि वैशाख २१ गतेदेखि, चौसठ्ठी काली मन्दिर टोलमा वैशाख २६ गतेदेखि, नयाँ समावेशी टोल र बिर्ताबजारमा वैशाख २९ गतेदेखि र करेलाबारी टोलमा वैशाख ३० गतेखि निःशुल्क खाना वितरण थालिएको छ ।
खाद्यान्न सकिएपछि भोकैपर्ने अवस्था आएकाले खाना खुवाउन थालिएको विद्यार्थी नेता सन्तोष उप्रेतीले बताउनुभयो । लकडाउन नसकिएसम्म खाना वितरण जारी रहने उहाँ बताउनुहुन्छ ।
सामुहिक खाना खुवाउने अभियानमा नविन शिवाकोटी, उदयशंकर शाह, नरेश शाह, अफरोज खान, सन्तोष राउत, संजयकुमार शर्मा, नारायण शाह, राजेन्द्र सिंह, रेनुका थापालगायतले सक्रियता देखाउनुभएको छ ।
यता, कनकाई–८ त्रिवेणी टोलमा कनकाई नगरपालिकाद्वारा त्यहाँ रहेका गरीब परिवारलाई निःशुल्क खाना वितरण शुरु गरेको छ । यहाँका ७७ परिवारलाई खाना खुवाउन थालिएको हो ।

नगरपालिकाले दोस्रो चरणसम्मको राहत वितरणपछि तेस्रो चरणमा खाना विरतण शुरु गरिएको नगरप्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो । ‘नगरका ९ वटै वडामा खाना वितरण कार्यक्रम शुरु गर्छौं’, उहाँले भन्नुभयो, ‘यसले वास्तविक विपन्नलाई राहत मिल्नेछ ।’
यो सँगै झापामा दर्जनौँ व्यक्ति तथा संघसंस्थाले जिल्लाका विभिन्न स्थानमा निःशुल्क भोजनको व्यवस्था गरेका छन् । जसका कारण वास्तविक विपन्नलाई अभावका बेला राहत मिलेको छ ।
- admin


