बिर्तामोड, २२ फागुन । झापा गोल्डकप फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल दिउँसो झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । यसअघि हिजो भएको खेलमा जावालाखेल युथ क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले जावलाखेललाई पराजित गरेको हो ।
झापा गोल्डकपमा घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी भएको छ । गोल्डकपमा दुई भारतीय टिम एमएफसी दार्जिलिङ र आरपी एफसी सिक्किम सहभागी भएका छन्।
गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रूपैयाँ पुरस्कार पाउनेछन्।
त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एउटा मोटरसाइकल प्रदान गरिनेछ। प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रूपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९ सय ९९ रूपैयाँ पाउने गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।
- admin


