बिर्तामोड, १८ बैशाख । झापाको बिर्तामोडस्थित इस्टर्न एम्पायर कलेज अफ होटल व्यवस्थापनले थप दुई विषयमा अध्यापन शुरु गर्ने भएको छ ।
कलेजले यही शैक्षिक सत्रदेखि कम्प्युटर साइन्स र विजनेस स्टडिज विषयको अध्यापन गर्ने भएको हो । आज पत्रकार सम्मेलनको आयोजना गरी इस्टर्न एम्पायर सो विषयमा जानकारी गराएको हो । अन्य शैक्षिक संस्थासरहकै शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना रहेको कलेजका संस्थापक आलोक कार्कीले जानकारी दिनुभयो ।
२०७१ सालदेखि सञ्चालित इस्टर्न एम्पायरले होटल व्यवस्थापनसँगै विभिन्न कोर्षहरु अध्यापन गराउँदै आएको छ । कार्कीले आफूहरुले व्यावहारिक र बहुआयामिक शिक्षासँगै रोजगारीको समेत व्यवस्था गर्ने गरेको बताउनुभयो । उहाँले यसै वर्ष मात्र ३१० जना विद्यार्थीलाई विभिन्न मुलुकमा रोजगारीका लागि पठाएको समेत जानकारी दिनुभयो ।
‘खाडी लगायत युरोपका देशहरुका स्तरीय होटलहरुमा जब प्लेसमेन्ट गरेका छौँ’, उहाँले भन्नुभयो, ‘पढेपछि रोजगारीको व्यवस्था हामी गर्छौं ।’
इस्टर्न एम्पायर कलेजले होटल व्यवस्थापन विषयमा एडभान्स डिप्लोमा मात्र अध्ययन गराउदै आएको थियो तर अब एसईइ पछि पनि विद्यार्थीले विभिन्न थप दुई विषयहरुमा अध्ययन गर्न पाउने जनाइएको छ ।
विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक सिपको पनि उत्तिकै महत्व हुने भन्दै विभिन्न सीप सिकाएर गरिखान सक्ने बनाउने कलेजको मूल उद्देश्य रहेको कार्कीले बताउनुभयो ।
- admin


