
समाचार टिप्पणी
भद्रपुर, ३ मंसिर । नेपाली कांग्रेस पछिल्लो समय आफैंभित्र पनि निरन्तर आलोचित छ । पछिल्लो दशकमा कांग्रेस आफै राम्रो भएर वा असल काम गरेर चैं होइन, सत्तामा लामो समय बस्ने मौका पाएका कम्युनिष्टहरूले चैं नराम्रो गरेका कारण जडाउरीमा सत्तामा लाभ पाइरहने दल बन्न पाइरहेको छ । २०६४ सालमा ठूलो दल बनेको माओवादीले जनअपेक्षा पूरा गर्न नसकेकै कारण २०७० सालमा कांग्रेसले ठूलो दल बन्ने अवसर त पायो; तर बहुमत हासिल गर्न सकेन भने २०७४ सालमा फेरि बाम गठबन्धनले नेपाली कांग्रेसलाई प्रत्यक्षतर्फ जम्मा २३ सिटमा झारेको भए पनि हालै फेरि बाम गठबन्धनमा आएको विचलनको लाभ फेरि पनि कांग्रेसलाई नै मिलिरहेको हो ।
जनताका हकमा कांग्रेस पहिलो रोजाइ होइन, यतिञ्जेल ‘खाली ठाउँ भर’ भन्ने प्रश्नपत्रको ढाँचाजस्तो मात्रै बनिरहेको कांग्रेसलाई आसन्न यसपालिको महाधिवेशनले कस्तो र कुन गति प्रदान गर्ने हो– प्रतीक्षाकै विषय मात्रै हो । अब त महाधिवेशनका लागि २ साता मात्रै बाँकी छ । तर, आकांक्षीहरूबीच एकले अर्कालाई उछिन्न आरोप–प्रत्यारोप गर्ने, खुइल्याउने बाहेक न फरक विचारको दस्तावेज छ, न नीति कार्यक्रम र योजना नै !
यसै परिप्रेक्ष्यमा हाल झापा जिल्लाको कांग्रेस नेतृत्वका लागि खेमागत समीकरण र ध्रुवीकरणको खेल चलिरहेको छ । त्यस चलखेलमा कांग्रेसका सदावहार प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता केन्द्रीय सदस्य विश्वप्रकाश शर्माको खेमाका मानिने दुई ध्रुवमा जिल्ला नेतृत्वका आकांक्षी चुनावकेन्द्रित भएको देखिएको छ । गृहजिल्लामा आफ्नो प्रभाव कायमै राख्ने र अझ विस्तार समेत गर्ने धुनमा स्वाभाविक रूपमा सिटौला छन् । यसका निम्ति उनी आफू निकट र केही समयपछि आफ्नो उम्मेदवारीमा भरपूर सहयोग गर्नसक्ने ‘ड्यासिङ पावर’वालालाई जिल्लाको नेतृत्वमा राखेर अहिलेको पैंचो त्यो बेला फिर्ता लिन सकिने दमदारलाई सघाउन इच्छुक रहेको विश्लेषकहरू तर्क गर्दैछन् ।
आठ नगरपालिका र सात गाउँपालिका रहेको झापा जिल्लामा सिटौलापक्षीय वा भनौं समर्थित नै बढी छन् भनिरहँदा र यसपटकको समीकरणमा जिल्लाका अर्का ‘बाघ’ मानिने कांग्रेस नेता केशवकुमार बुढाथोकीको पहल पनि परोक्षतः आफ्नो संसदीय चुनावी क्षेत्रकै देउमान थेवेलाई नै सघाउने हुन पुगेको छ । यस हिसाबले विश्वप्रकाश शर्मा समर्थित अर्का शालीन उम्मेदवार राम कट्टेलको पल्ला वजनदार बन्न नसक्ला कि भनेर द्विविधा जाहेर गर्नेहरू मनग्गे पाइएका छन् । तथापि, हालको यस्तो रणनीति आगामी केन्द्रीय चुनावलक्षित समीकरणलाई समेत मीमांसा गरेर केही तलमाथि हुन सक्दैन नै भन्ने अवस्था पनि नभएको चैं होइन ।
झापा जिल्लाका ११ वटा पालिकामा यसपटक चुनावबाट दलको नेतृत्व छानियो । जसमा सिटौला पक्षधर अधिकांश रहेको भनिन्छ । कांग्रेसका जिल्ला सभापति उद्धव थापा पनि अघिल्लो चुनावको सशर्त पैंचो तिर्न थेवेलाई सघाउन पुग्छन् भन्ने कांग्रेसी वृत्तको चर्चा माझ प्रतिस्पर्धी शर्मा खेमाका जिल्ला कांग्रेसका इमानी र समर्पित सभापति पदका आकांक्षी कट्टेलका हकमा नतिजा कति अपेक्षित बन्न सक्ला– अहिले त धरमर नै रहेको हुन सक्छ । यद्यपि भन्नका लागि त अहिलेको हाम्रो पोजिशन ५० ÷ ४५ को हो, ५ प्रतिशत चैं अरूको हिस्सामा जाला पनि भनिंदैछ ।
तर, पार्टीको १४ औं महाधिवेशनको प्रारम्भिक चरणबाटै जिल्ला समितिका पदाधिकारीहरूको बहुमत शर्मा पक्षमा उभिएको पनि अर्काथरि भन्दैछन् । जसमा ‘दम’ नभएको पनि भन्न किन सकिन्न भने, मेचीनगरका राम कट्टेलको जिल्ला सभापतिमा उम्मेदवारीपछि समीकरण बदलिएको छ । यस अघि कट्टेल त सिटौला खेमामै थिए । तर, अब सचिवद्वय प्रेम सम्बाहाम्फे र तारवीर कटुवाल, उपसभापति देवी राजवंशी, सहसचिव राजेन्द्र भण्डारी र जिल्ला पार्टी प्रवक्ता लोकराज ढकाल यसअघि सिटौला पक्षका भनिंदै गर्दा पनि हाल शर्मा खेमामा उभिन पुगेका छन् । यसरी झापा जिल्लाको कांग्रेसी पदाकांक्षीहरू केन्द्रीय नेताहरूको समीकरण र ध्रुवीकरणको गोलचक्करमा परेको अनुमान गरिएको छ ।


