
बिर्तामोड, २४ फागुन । बिर्तामोडमा अग्नि नियन्त्रण सम्बन्धी एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजना तथा डीएचएसएस सुरक्षा प्रा.लि भरतपुरको सह–आयोजनामा नगरपालिकाको हलमा सोमबार अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रालिका प्रमुख छवि सापकोटाले आगलागि र त्यसको नियन्त्रणका लागि गर्नुपर्ने उपायका बारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षक सापकोटाले आगो नियन्त्रणका लागि प्रयोग हुने उपकरणको प्रयोग,आगोलागिको समयमा गर्न हुने र नहुने कार्यहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै झापाका प्रमुख जिल्ला अधिकारी छबि रिजालले आगोलागिका कारणहरु मध्ये भान्सामा खाना पकाउँदा हुने लापर्वाहि,विद्युत सर्ट,चुरोटका ठुटाहरु जताततै फाल्ने,बनभोज खाएर आगो ननिभाउने लगायत रहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी रिजालले झापाको १५ वटा पालिकाहरु मध्ये १० वटामा दमकल रहेको र यस मध्येपनि एउटा पालिकाको बिग्रीएर थन्किएको अवस्थामा रहेको जानकारी दिनु भयो । आगो नियन्त्रणका लागि उक्त दमकलहरु पानीमात्र प्रयोग हुने भएकाले फमबाट चल्ने दमकल खरिद गर्न आवश्यक रहेको पनि उहाँले बताउनु भयो ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोदकुमार न्यौपाने,जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणि पोख्रेल,नयाँ श्रीनाथ गण चारआलीका सेनानी अभिषेक बिष्ट,सशस्त्र प्रहरी बल झापाका प्रमुख प्रदिप सिंह कार्की,इलाका प्रहरी कार्यालय अनारमनिका प्रमुख सन्तोष आचार्य,जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागाई,जनप्रतिनिधि,कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी मेघराज बाँस्तोलाले गर्नुभएको थियो ।
- admin


